काठमाडौं : आमनिर्वाचनका लागि करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। निर्वाचन आयोगका अनुसार यीमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिए। आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको सङ्ख्या करिब २३ हजार ७०० हुने अनुमान गरेको छ।
प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन्। मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ। यसरी दुई लाख ४२ हजार कर्मचारी मतदान केन्द्रमै केन्द्रित हुने आयोगले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार ४८५ कर्मचारी नियुक्त हुने छन्। यसबमोजिम प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा नौ कर्मचारी रहने छन्। निर्वाचन अधिकृतको कार्यालय घटे पनि मतदान केन्द्र र त्यसमा खटिने जनशक्ति थपिएको प्रवक्ता पौडेलले बताए।
आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने जनाइएको छ। केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा एक हजार कर्मचारी रहने प्रवक्ता पौडेलले बताए।
त्यसैगरी मतगणनाका लागि आयोगले दुई हजार ४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० वटा क्षेत्र छन्। मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन हुने छन्।