काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा बोलाएकी थिइन्।
त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।
राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो।
राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।
राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।
राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुन: संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।
पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाई लागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।
पूर्वउपरथी सुरेश कार्कीले ‘नागरिकतामा तपाईंले लिएका कदम ठिक छन् तर यसैलाई लिएर राजीनामा दिनेसम्मका कुरा आएका छन् नि!’ भन्ने प्रसंग उठाएका थिए।
कतिपय पूर्वसुरक्षा अधिकारीहरूले संसदले नागरिकता विधेयक पुन: हुबहु रूपमा पठाएमा प्रमाणीकरण नगर्न सुझाव दिएका थिए।
साथै राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताइन्।
‘नागरिकता विधेयक, अग्निपथ (भारतीय सेनाले सैनिक भर्तीबारे ल्याएको एक योजना) लगायत विषयमा कुराकानी भइरहेका बेला राष्ट्रपतिले राजीनामा दिने प्रसंगका कुरा पनि निस्केको थियो। मैले राजीनामा दिने कुरा बजार हल्ला मात्रै हो, यसमा मैले केही सोच बनाएको पनि छैन भनेर उहाँ (राष्ट्रपति) ले भन्नुभयो,’ शितल निवास पुगेका एक सैनिक पूर्वअधिकारीले सेतोपाटीसँग भने।
केही पूर्वसैनिक अधिकारीहरूले भने राष्ट्रपतिले लिने नागरिकता कदममा आफूहरूले समर्थन गर्ने बताएका थिए।