काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यसपटकको चुनाव लड्नैपर्ने र जित्नै पर्ने परिस्थितिले माग गरेको बताएका छन् । बिहीवार काठमाण्डौमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो सङ्केत गरेका हुन् ।
अध्यक्ष नेपालले अबको पाँच वर्षपछि भने सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत समेत गरे । ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र यस पटकको चुनाव लड्नै पर्ने परिस्थिति सृजना भएको भन्दै ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे । उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।
यस पटकको चुनावमा त लड्नै पर्छ । जित्नै पर्छ । राजनीतिलाई एउटा मोडमा पुर्याउनै पर्छ । चुनावको मिति घोषणा भइ पनि सकेको छ । डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईँहरूको बीचमा मैले फेरि आउनुपर्नेछ ।’ उनले भने ।
अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा पाँच दलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने उद्घोष गरे । ण्भोलि शुक्रवारको बैठकमा पाँच दलीय गठबन्धनको तर्फबाट आउँदो चुनावमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने उनले बताए । अव आफूहरु तेस्रो शक्ति बनाउन पार्टीहरू एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हुनुपर्ने आवश्यकता भएको उनले बताए ।
अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबै थोक हौँ भन्ने आशङ्का परेको व्यक्त गर्दै अरू पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए ।