काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दै नेता खनालले आफूहरु सदैव एक चीन नीतिमा दृढ रहने बताएका हुन् ।
नेता खनालले अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले ताइवान चीनको अभिन्न अंग भएकाले अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ , ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो ।’
चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने भन्दै सभामुख पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि नेता खनालले चीनको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । साथै संयुक्त राज्य अमेरिकाले एक चाईनालाई स्वीकार गरेपनि सभामुख पेलोसीको भ्रमणले भने तरंग ल्याउनसक्ने उनको भनाई छ । यस्तै, नेपाल पनि सदैव एक चीन नीतिमा प्रतिबद्ध रहने उनको भनाई छ ।
पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो ।