August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

जसपाको यो बैठक वैधानिक हो : बाबुराम भट्टराई

490

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विस्तारित बैठक जारी छ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा २ सय ३० केन्द्रीय सदस्य सहभागी रहेको दाबी गरिएको छ । बैठकमा उपस्थित रहेको संख्या कुल केन्द्रीय समितिको ४६ प्रतिशत हो । केन्द्रीय समिति ४ सय ९९ रहेको छ ।

काठमाडौंको जडिबुटीस्थित रोयल बैंकेटमा जारी बैठकमा बोल्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन् । भट्टराईले विचार संगठन जोगाएर ल्याएकाले वैधानिक बैठक समेत आफ्नो भएको बताएका हुन् ।

भट्टराईले भने, ‘जसपा वैकल्पिक शक्ति भनेर निर्माण गरेको पार्टी हो । यो पार्टीलाई बचाउँदै यहाँसम्म ल्याउने मूल पङ्क्ति हामीसँग छ । यो बैठकमा कति सङ्ख्या छ भन्ने निरूपण हुँदै जाला । मलाई लाग्छ सङ्ख्याको बहुमत पनि हामीसँगै छ । यदि कसैले आफूले राखेको बैठक अवैधानिक भन्छ भने इतिहासलाई बङ्ग्याउने र झुटो बोल्ने काम हुने भट्टराईको भनाइ थियो ।

Advertisement

यस्तै, भट्टराइले गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन नगरेको आरोप लगाएका छन् । भट्टराईले सरकारले जनमुखी शासन प्रशासन र आर्थिक नीति निरुपणका लागि दृष्टिकोणले सफल हुन नसकेको बताए ।

उनले भने, ‘ओलीको प्रतिगमनकारी कदमलाई परास्त गरी संविधान र संविधानवादको रक्षा गर्ने दृष्टिकोण सही र सकारात्मक हो । कुनै पनि देशको राज्यसत्ता सरकारविहीन हुन सक्दैनथ्यो र यो भन्दा बाहेक अरु कुनै संवैधानिक तथा राजनीतिक उपाय बाँकी थिएनन् । कोभिड–१९ को महामारी नियन्त्रण, भर्खरै स्थानीय निर्वाचन सम्पन्न गर्नुलाई सरकारको सकारात्मक उपलब्धी मान्न सकिन्छ । तर, जनमुखी शासनप्रशासन र आर्थिक नीति निरुपणका दृष्टिकोणले भने सरकार खासै सफल देखिन्न ।’

यस्तै, उनले सरकारले गठबन्धन बन्दा तय गरिएका न्युनतम साझा कार्यक्रमको मर्म र भावनालाई सरकारलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् । यो सरकारको कार्यकालमा देशको अर्थतन्त्र र आर्थिक प्रशासनमा गम्भीर समस्या देखा परेका आरोप लगाएका छन् ।

यस्तै, अध्यक्ष भट्टराईले मुलुकमा युवा बेरोजगारी, श्रम पलायन, बैदेशिक परनिर्भरता बढ्दै गर्दा गठबन्धन सरकारमाथि जनअसन्तुष्टि र गुनासा बढ्नु स्वभाविक भएको बताएका छन् ।

भट्टराईले जसपाको उनी पक्षधर नेता कार्यकर्ताको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अन्य राजनीतिक दलबारे टिप्पणी समेत गरेका थिए ।