February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

काठमाडाैंका मेयर बालेन शाहकाे चुनावी खर्च करिब ४ लाख

2K

काठमाडौं : काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भएको दावी गरेका छन्।

उनले खर्चको विवरण सार्वजनिक गर्न ढिलाई भएकोमा मतदातासँग माफी मागेका छन्। उनले निर्वाचनको मतगणनाका बेलामै १ लाखभन्दा बढी खर्च भएको बताएका हुन्।

मेयर शाहले निर्वाचनको मतगणना प्रक्रिया निकै लामो र बोझिलो भएको उल्लेख गरेका छन्। मतदाताले उनीप्रति गरेको माया र विश्वास निकै अमूल्य र कुनै संख्यामा गणना गर्न नसकिने उनले जनाएका छन्।

Advertisement

फेसबुकमा आफ्नो धारणासहित खर्च विवरण तालिका राखेर मेयर शाहले चुनावी बजेट सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, ‘खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (३,९४,४८९) भएको छ। जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो। मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ। यसमा सबैको ध्यान जान जरुरी छ। र, भन्नै पर्ने कुरा छ, एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबैभन्दा शक्तिशाली कम्प्युटरले जस्तोसुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन। त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ।’