August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय अनुमोदन

335

काठमाडाैं । एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न गरेको सिफारिसको निर्णय अनुमोदन गरेको छ। मंगलबार बसेको आयोगको केन्द्रीय कमिटी बैठकले यसअघि सचिवालयले गरेको सिफारिस अनुमोदन गरेको हो।

जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले भुसाललाई स्पष्टीकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो।
तर हिजो सोमबार बसेको एमाले सचिवालय बैठकमा यस विषयमा छलफल भएको थिएन।

भुसालले सार्वजनिक रूपमा पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै आयोगले स्पष्टीकरणका लागि सिफारिस गरेको एक सचिवालय सदस्यले बताए।

Advertisement

‘चुनावमा पार्टीलाई अन्तरघात गर्नेका बारेमा समेत छानबिन भइरहेको छ। त्यसका लागि केही समय लाग्छ। तर भुसालजीले त सार्वजनिक रूपमै बोल्नुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘अब पार्टीले कस्तो कारबाही गर्छ उसको कुरा हो। भुसाललाई बोलाएर स्पष्टीकरण लिने कि आत्मालोचना गर्न लगाउने भन्ने कुरा सम्बन्धित कमिटीको कुरा हो।’

एमाले स्थायी कमिटी सदस्य भुसालले स्थानीय तहको निर्वाचनमा भएको पराजयको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीले लिनुपर्ने बताउँदै आएका छन्। उनले २०६४ को निर्वाचनमा अनपेक्षित नतिजा आएपछि तत्कालीन पार्टी महासचिव माधव नेपालले राजीनामा दिएको प्रसंग समेत सार्वजनिक रूपमै उठाउँदै आएका छन्।

भुसाल पार्टीभित्र ओलीको आलोचकका रूपमा समेत चिनिन्छन्।