May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

पुन, भुसाल र भट्टराईले गरे मन्त्रिपरिषद बैठकमै संसद विघटन प्रस्तावको प्रतिवाद

2.6K

काठमाडौं–संसद विघटन प्रस्तावको मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुले प्रतिवाद गरेका छन्। ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेशकुमार भट्टराईले एकै पटक प्रतिवाद गरेका थिए। संसद विघटनले मुलुकलाई निकै ठूलो क्षति पुर्‍याउनेभन्दै उनीहरुले त्यसो नगर्न प्रधानमन्त्री केपी ओलीलाई सजग गराएका थिए। 
 
‘पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गरौं, त्यहीबाट निकास निकालौं। यसले मुलुकलाई नै ठूलो क्षति पुर्‍याउँछ,’ बैठकमा प्रतिवाद गरेको विषयमा एक मन्त्रीले भने, ‘संसद विघटनले अन्ततः व्यवस्थामाथि नै प्रश्न उठाउँछ त्यस्तो गर्नुहुँदैन।’

पार्टीभित्र देखिएको विवादलाई मुलुक र जनतालाई क्षति पु¥याउनेगरी संसद विघटन गर्न नहुनेमा तीनै जना मन्त्रीले सचेत गराएको ती मन्त्रीले बताए। यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले संसद विघटन गर्ने सुविधा नदिएको भन्दै घुमाउरो भाषमा आफ्नो कुरा राखेको अर्का एक मन्त्रीले बताए।

‘अहिलेको संविधान र कानुनले संसद विघटन गर्ने सुविधा दिएको छैन,’ ज्ञवालीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘अहिले संसद विघटन गर्दा बाहिर राम्रो सन्देश जाँदैन कि भन्ने लाग्छ ।’ 

Advertisement

ज्ञवालीले संसद विघटनका विषयमा सशक्त रुपमा प्रतिवाद नगरी घुमाउरो भाषमा असहमति जनाएको ती मन्त्रीको भनाइ छ । पुन, भुसाल, भट्टराई र ज्ञवालीले आफ्नो कुरा राखेपछि प्रधानमन्त्रीले सबै सम्भावना टरेपछि संसद विघटन गर्न थालेको बताएका थिए। ‘तपाईंहरुले आफ्नो कुरा भन्नुभयो, मैले सुनेँ, सहमतिका लागि सबै सम्भावना टरेर संसद विघटनको प्रस्ताव गरेको हुँ’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘तपाईहरुले आफ्नो कुरा राख्नुभयो धन्यवाद भनेर हिड्नुभयो ।’