रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।
महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।
माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका–१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका–६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।
रसुवामा पाँचओटा पालिका छन् । जसमा २७ ओटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन् ।
जिल्लामा १४५ पदका लागि निर्वाचन हुने छ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५४५ मतदाता छन् ।