पर्सा : मुलुकका ठूला राजनीतिक दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। पर्साको वीरगन्जमा मंगलबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।
चुनावी सभामा मंगलबार साँझ सम्बोधन गर्दै उनले भने ‘एमाले, कांग्रेस लगायत गणतन्त्रवादी ठूला दलहरुले मुलुकलाई वेरोजगार उत्पादन गर्ने कारखाना बनाए। देशलाई असफल राष्ट्र हुनबाट जोगाउनु छ। यसका लागि युवाहरुलाई मुलुक भित्रै रोजगारी सृजना गरी पलायन हुनबाट रोक्नु पर्छ।’
पाँच बर्षमा एक पटक आउने जनताको सार्वभौम अधिकार बुद्धि पुर्याएर प्रयोग गर्नुपर्ने उनकाे जोड छ। ‘हातमा मतपत्र परेपछि सोचेर प्रयोग नगरे भोलि पछुताउनुको विकल्प हुँदैन,’ उनले भने।
‘भोट दिने कुरा हात काटेर दिए जस्तै हो, छोरी दिनुभन्दा पनि महत्वपूर्ण कुरा हो’ अध्यक्ष लिङ्देनले भने। ‘छाप हानिसकेपछि नेतालाई, देशलाई गाली गरेर र भगवानलाई दोष दिएर हुँदैन’ अध्यक्ष लिङ्देनले तर्क गरे।
आफू बसेको गाउँ ठाउँ राम्रो बनाउन राम्रो पार्टी, राम्रो व्यक्ति र नेतालाई चुनेर निर्वाचनमा भोट दिन वीरगन्ज वासी सामु उनले आग्रह गरे।
भ्रष्टाचारको वेथिती रोक्न र सन्ततिको भविष्य उज्जवल बनाउन, कर तिर्न पनि घुस खुवाउनु पर्ने परिस्थितिलाई बदल्न अब राप्रपाका उमेदवारलाई साथ दिनुपर्ने उनले वीरगन्ज वासी सामु आग्रह गरे।