काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय चुनावको सन्देशमूलक भिडियो प्रचार गर्नेलाई नगदसहित प्रशंसापत्र पुरस्कार दिने भएको छ। निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियो सामग्री प्रचार गर्नेलाई २० देखि ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ।
आइतबार सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयार गरेका भिडियोहरू टिकटक बनाई वा पहिलेकै स्वरूपमा मतदानको अघिल्लो दिन २९ गतेसम्म पोष्ट तथा शेयर गर्नेलाई पुरस्कृत गर्ने भएको हो।
फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा पोष्ट र शेयर गरी भाइरल बनाएमा ५० लाख वा सो भन्दा बढी दर्शक पुर्याउनेलाई ५० हजार रुपैयाँ, ३० लाख वा सो भन्दा बढी दर्शक पुर्याउनेलाई ३० र २० लाख वा सो भन्दा बढी दर्शक पुर्याउने लाई २० हजार रुपैयाँले पुरस्कृत गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।