May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

स्थानीय तह निर्वाचन: ४९ जिल्लामा पुग्यो मतपत्र

220

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ४९ जिल्लामा मतपत्र ढुवानी गरेको छ। सडक तथा हवाईमार्गमार्फत् ४९ जिल्लामा मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थानमा मतपत्र ढुवानी भइसकेको छ। 

बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको आयोगले जनाएको छ। वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए।

Advertisement

काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ। मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ। 
    
निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो। हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ। 

निर्वाचन आयोगले भक्तपुर जिल्लाका ४ स्थानीय तह र महानगरपालिकाको मतपत्र भने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छाप्ने निर्णय गरेको थियो।