November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरुबीच गठबन्धन हुने

3.9K

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा भाग लिने भएका छन् । बुधबार साँझ बसेको चार दलिय बैठकले २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्य पदका लागि मिलेर उम्मेदवारी दिने भद्र सहमति भएको नेपाली काँग्रेसका सभापति दुर्गा बम्जनले बताए ।

नेपाली काँग्रेस, जनता समाजबादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी साथै नेपाल कम्युनिस्ट पार्टी र एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरू मिलेर नेकपा एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । जसअनुसार अध्यक्ष पदका लागि नेपाली काँग्रेस, उपाध्यक्ष पदका लागि नेकपा माओवादीले पाएका छन् । त्यस्तै, वडा नम्बर १ को वडाअध्यक्ष जसपा, सदस्य काँग्रेस, माओवादी, नेकपा एस र राप्रपाको भागमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा वडाअध्यक्ष नेकपा एस, सदस्यहरु काँग्रे दुई र माओवादी दुई छन् । वडा नम्बर ३ मा वडाअध्यक्ष पद काँग्रेसले पाएको छ भने सदस्यहरुमा दुई माओवादी एक जसपा र नेकपा एसले पाएका छन् । त्यस्तैगरि वडा नम्बर ४ मा वडाअध्यक्ष पदमा जसपा र सदस्यहरुमा काँग्रेस माओवादी जसपा र नेकपा एस रहेका छन् । वडा नम्बर ५ मा पनि वडा अध्यक्ष पदका लागि नेकपा माओवादीले पाएको छ भने अन्य सदस्यहरुमा काँग्रेस माओवादी र जसपाले समेतले पाउने गरि पदिय सहमति भएको जनाइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडाहरुमा बिजय प्राप्त गरेका थिए । १ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए भने गाउँपालिकाको हकमा एमालेका तर्फबाट अध्यक्ष पदमा जयबहादुर चेम्जोङले ३ हजार २ सय २६ मत ल्याएर बिजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेस पार्टीका उम्मेदवार बम लावतीले २ हजार ३ मत प्राप्त गरेका थिए । यस्तै नेकपा माओवादी केन्द्रका तारावीर कुवरले ४ सय १० मत ल्याएका थिए । यसैगरी उपाध्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार सीता आचार्यले ३ हजार २ सय ८५ मत ल्याएर बिजयी बनेका थिए । उनका प्रतिस्पर्धी राप्रपाका जितबहादुर अगुवाले १ हजार १ सय ३८ मत ल्याएका थिए भने संघिय समाजवादी पार्टीका सुर्यकिरण राइले २ सय १२ मत ल्याएका थिए ।

Advertisement

त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुम्मायक गाउपालिकामा रहेका ५ वटा वडाहरुको मत परिणाम यस्तो रहेको थियो । वडा १ का स्वतन्त्र उम्मेदवार (हाल जनता समाजवादी पार्टी ) देवेन्द्रकुमार लावतीले ५ सय ७ मत ल्याइ बिजयी बनेका थिए भने उनका निकटतम प्रतिस्पर्धी खडकबहादुर बरालको ४ सय ७४ मत र राप्रपाका टठबहादुर घिमिरेले ३ सय ४४ मत ल्याएका थिए । यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका बालकृष्ण शेर्मा (हाल नेकपा एकीकृत समाजवादी पार्टी ) का ७ सय १ मत काँग्रेसका लोकबहादुर निरौलाको ५ सय ४४ मत र माओवादी केन्द्रका डिकेन्द्रकुमार शेर्माको १ सय ८० मत रहेको थियो । यसरी नै वडा न, ३ मा नेकपा एमालेबाट निर्वाचित रामप्रसाद गजुरेलले ५ सय ५ मत र प्रतिस्पर्धी काँग्रेसका कमलबिक्रम सम्बाहाम्फेले २ सय ९० मत सङ्घीय समाजवादी पार्टीका कबिन्द्र सम्बाहाम्फेले १७ मत ल्याएका हुन् । यसैगरी वडा नम्बर ४ मा नेकपा एमाले पार्टीको तर्फबाट पुर्णकुमार खड्काले ५ सय ५७ मत ल्याएर बिजयी बनेका थिए । उनका प्रतिस्पर्धी लिम्बुवान पार्टीको तर्फबाट सुर्य सम्बाहाम्फेले १ सय ९२ मत साथै नेपाली काँग्रेसका नन्दिकेशर निरौलाले जम्मा ६४ मत प्राप्त गरेका थिए र वडा नम्बर ५ मा नेकपा एमालेका यामबहादुर बोहोराले ७ सय ११ मत र उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का ३ सय ३८ मत र राप्रपाका कुलबहादुर चेम्जोङले जम्मा ४३ मत ल्याएका थिए ।

२०७४ मा भएको स्थानीय निकायको निर्वाचनमा भन्दा यसपटक यस कुम्मायक गाउपालिकामा नेकपा एमालेले निक्कै कडा मेहनत गरेर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिनु पर्ने देखिन्छ ।