May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

दमकमा ओली र लिङ्देनको सहकार्य टुट्यो

170

झापा। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आफ्नो गृहजिल्लामा धक्का लागेको छ । एमालेले कमल थापा नेतृत्वको राप्रपासँग एउटै चुनाव चिन्हमा लड्नेगरी सहकार्य गरेपछि ओलीलाई धक्का लागेको हो ।

यसअघि एमाले र राजेन्द्र लिङ्दने नेतृत्वको राप्रपासँग चुनावी गठबन्धन बनाउने तयारी हुँदैथियो । तर, ओली कमल थापातिर ढल्किएपछि लिङ्देन नेतृत्वको राप्रपा एमालेसँग टाढिएको छ ।

शनिबार झापाको दमकमा राप्रपाले शक्ति प्रदर्शन गरेको थियो । सोक्रममा राप्रपाले राम थापालाई दमकको मेयर उम्मेदवार घोषणा गरेको छ । थापालाई नेपाली काँग्रेसले समेत सघाउने वचन दिएका कारण एमालेमाथि दबावमा बढ्ने देखिएको छ ।

Advertisement

यसअघि ०७४ को संघीय निर्वाचनमा दमकमा ओलीलाई राप्रपाले सघाएको थियो । यसपटक भने राप्रपाले मेयरमा आफूलाई सहयोग गर्न भनेको थियो । तर, ओलीले लिङ्देन नेतृत्वको राप्रपालाई छाडेर ओली कमल थापासँग सहकार्य अगाडि बढाएका छन् । यससँगै अब दमकमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने भएको छ ।

ओलीले राप्रपाका राम थापासँग सहकार्य गर्न चाहेका थिए । मेयरमा एमालेलाई सघाएमा थापालाई आगामी चुनावमा प्रदेश सभामा सघाउन सकिने ओलीले संकेत गरेका थिए । तर, थापाले मेयरको दाबी नछाडेपछि एमालेसँगको सहकार्य हुन नसकेको लिङ्देन निकट स्रोतले बताएको छ ।

ओलीकै गृह नगरमा मेयर अर्को दललाई दिने हो भने राम्रो सन्देश नजाने भन्दै एमालेले दमकमा राप्रपालाई साथ दिन इन्कार बुझिएको छ । तर, अहिले राप्रपासँग तालमेलको सम्भावना टरेपछि एमालेले उपमेयर गीता अधिकारीसहित ३ जनाको मेयरको उम्मदेवारका रुपमा सिफारिस गरेको छ ।

यस्तै प्रदेशसदस्य अम्बिका खनाल र होम थापालाई पनि एमालेले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ भने उपमेयरमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।