June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने: रामचन्द्र पौडेल

२०७८ फाल्गुन २४

3.7K

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने बताएका छन् । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै पौडेलले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताए ।

वरिष्ठ नेता पौडलले भने, ‘पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ । आज डाँडा–डाँडामा विकास पुगेको छ, डाँडाको दिन फर्किन थालेको छ, राना भनेको जनजाति हुन्, अब जनजातिका पनि दिन फर्किन्छन् ।’

त्यस्तै, नेता पौडेलले तनहुँसुर ऐतिहासिक ठाउँ रहेकाले यसको विकास गर्नुपर्ने बताउँदै कुनै जमानामा चहलपहल रहेको तनहुँसुर विस्तारै ओझेलमा परेपनि विकासको क्रमले पुनः यो ठाउँ चहलपहल हुने दिशामा अगाडि बढेको बताए ।

Advertisement

सोहि अवसरमा वरिष्ठ नेता पौडेलले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गरे । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका छन् । उहाँहरुले क्रमशः रु ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ नगद प्राप्त गरेका छन् ।