काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । गत शुक्रबारदेखि सुरु बैठकका एजेन्डामा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएपछि आज बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।
आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेन्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
पुसमा सम्पन्न आठौँ महाधिवेशनले चयन गर्न बाँकी पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन तथा केन्द्रीय समिति थप गर्ने विषयमा माओवादी केन्द्रभित्र छलफल चलिरहेको छ । तर, सहमति जुट्न नसक्दा महाधिवेशनपछिको पहिले बैठक नै पटक–पटक सर्दै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आकांक्षी व्यवस्थापन गर्नै सकस भएको छ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरुको जिम्मेवारी बाँटफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुट्न नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन । सहमति जुट्न नसकेको अवस्थामा अरु एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् ।