काठमाडौं – सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
बालुवाटारमै दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने तयारी भइरहँदा दाहाल ओलीलाई भेट्न खुमलटारबाट बालुवाटार पुगेका हुन्। ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भनेका थिए।
संवैधानिक परिषदका सदस्य तथा सभामखु अग्नि सापकोटा बैठकमा नगएर गणपूरक संख्या पुग्न नसकेको अवस्थामा ओलीले मंगलबारको मन्त्रिपरिषदबाट सिफारिस गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए।
त्यसपछि चुलिएको तनावबीच दाहाल ओलीलाई भेट्न गएका हुन्। दुई नेताबीच भेटवार्ता चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।