काठमाडौं–हुलाकी राजमार्गअन्तर्गत सिरहाको गोलबजार–लगडी गदियानी सडक खण्ड कालोपत्रे निर्माणको शिलान्यास गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कालोपत्र निर्माणको शिलान्यास गरेका हुन्। पूर्वको झापादेखि सुदूरपश्चिम कञ्चनपुरसम्म जोड्ने हुलाकी राजमार्गको यस खण्ड शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले स्थिर सरकारले मात्र विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने बताए।
‘नेपालमा विकास निर्माणको महाअभियान सुरु भइसकेको छ,’ मन्त्री नेम्वाङले भने, ‘यस्तो अभियान पुरा गर्न स्थिर सरकारले मात्र सक्छ, जुनकुरा अहिले हामीले मुलुकमा प्राप्त गरेका छौं।’
उनले सरकारले भौतिक पूर्वाधार निर्माणका नयाँ क्षेत्र र ठूलाठूला विकास निर्माणका आयोजना तथा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको निर्माण थालनी गरेको बताए।
मन्त्री नेम्वाङले वर्तमान सरकारले प्रदेश २ लाई अत्यन्तै महत्वका साथ हेरेको भन्दै सोहीकारण विकासका ठूला परियोजनाहरु तराई मधेसमा सञ्चालन गरिएको बताए।