June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

आगामी तीनै तहका निर्वाचनमा काँग्रेस पहिलो र बलियो दलको रुपमा स्थापित हुन्छ: विश्वप्रकाश शर्मा

3.9K

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा काँग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा धारणा राख्दै आगामी निर्वाचनबाट काँग्रेस पहिलो र बलियो दल बन्ने बताएका हुन् ।

शर्माले काँग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका थिए ।

आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै महामन्त्री शर्माले पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए ।

Advertisement

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उनले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पारेका थिए ।

आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उनले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गरेका थिए ।

मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उनको भनाइ थियो ।

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउनका लागि अग्रजसँग समूहगतरुपमा क्रियाशील भएर काम गर्ने उनले बताए ।