काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले अब पार्टीले राजा बोकेर हिंड्ने नैतिक धरातल समाप्त भएको बताएका छन्।
२०६२/०६३ सालको जनआन्दोलन पछि आफूले राजालाई बोकेर हिँडे पनि अहिले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारबाहीले आफ्नो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको थापाको भनाइ छ।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षण पत्र लेख्दै थापाले भनेका छन्, ‘मैले उठाएका विषयहरुलाई चुनावमा जित हारको विषय नठानेर पार्टीको मान्यता र भविष्यमाथि आइलागेको जटिलताको रुपमा बुझ्न र त्यसको निराकरण गर्न अध्यक्षज्यू समक्ष म सविनय अनुरोध गर्दछु।’
उनले पार्टीको हालै सम्पन्न महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपबारे छानबिन गर्न पनि माग गरेका छन्।
‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ। स्वयं पूर्वराजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरु र नातेदारहरूले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई दबाब दिने तथा प्रलोभनमा पार्ने काम खुला रुपमा भयो। उनले पत्रमा लेखेका छन्, ‘पार्टीको आन्तरिक मामिलामा पार्टी इतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनीय र निन्दनीय रहेको छ।’
‘शतप्रतिशत राजावादीहरु भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरुप राजसंस्था स्थापित भयो भने राजबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झै प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ? भनि प्रश्न गर्नेहरुलाई हामीले के र कसरी जवाफ दिने ? उनले प्रश्न गरेका छन् ।
उनले आफू पार्टी हित र एकताको पक्षमा मन, वचन र कर्मले प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।
‘पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु। यो पार्टीमा मेरो रगत पसिना बगेको छ। मलाई राप्रपाको धेरै माया छ। पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ।’ थापाले लेखेका छन्।