पञ्चायतकालमा २२ वर्ष प्रधानपञ्च चलाएका आफ्नो बुबाको कार्यलाई चुनौति दिँदै घरभित्रैबाट बहुदलको पक्षमा संघर्ष गर्दै निस्किएकी लिलादेवी बोखिमको नेपाली काँग्रेस पार्टीमा अतुलनीय योगदान रहेको छ । करिब ४० वर्ष त्यो समयको दुर्गम जिल्ला ताप्लेजुङमा नेपाली काँग्रेसमा आवद्ध भई पार्टीको संगठन समाज र जनताको हितमा रहेर काम गरिन् । जिल्ला सभापति समेत बनिसकेकी बोखिमले पार्टीको गैर–सरकारी संस्था ‘महिला उद्यमी संघ’ स्थापना गरि महिलाको सीप र क्षमता बढाई आत्मनिर्भर बनाउने काम पनि गरिन् । अहिले बोखिमले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछिन् । उनीसँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
पार्टीको केन्द्रीय सदस्यमा जनजाति महिलातर्फबाट कि खुल्लामा प्रतिस्पर्धा गर्दैहुनुन्छ ?
म प्रदेश नम्बर १ को भूगोलबाट महिलातर्फबाट प्रतिस्पर्धा गर्दैछु ।
सम्भावना कस्तो देख्दै हुनुहुन्छ ?
यहि नै हुन्छ भन्ने त छैन । तर, जहाँसम्म लाग्छ मैले पार्टीका लागि गरेको योगदानको कदर हुनुपर्ने हो । यदि काँग्रेसमा चेतना छ र मेरो योगदानको मुल्यांकन हुन्छ भने परिणाम सकारात्मक आउछ भन्ने आशा राखेको छु । ममा राजनीतिक चेत आएदेखि नै काँग्रेसमा राजनीति गर्न सुरु गरेको हुँ । ताप्लेजुङ जस्तो संवेदनशिल ठाउँमा खुकुरीको धार र बन्दुकसँग लडेर पार्टी बँचाएर बसेको हुँ । त्यतिमात्र हैन १३औं महाधिवेशनमा बहुमतले जितेपछि पार्टीले दिएको जिम्मेवारी राम्रोसँग निर्वाह गरी ससम्मानका साथ साथिहरुलाई हस्तान्तरण गरेर केन्द्रमा जाने निर्णय गरेकी छु ।
यदि पार्टीले बुझ्थ्यो भने यसअघि पनि ताप्लेजुङ्मा दुइदुई पटक चुनाव हार्नुभयो, जनताले पनि विश्वास गरेनन् अब फेरि पार्टीले विस्वास गर्लान् भन्ने तपाइँमा आशा छ ?
म अहिलेसम्म काँग्रेस पार्टीभित्र हारेको रेकर्ड छैन । त्यसबाहेकका कुरामा त जनताले नपत्याएको भन्दा पनि प्राविधिक कारण र पार्टीभित्रको अन्तरघातको कारण जम्मा ३९ को झिनो मतले पराजित भएको थिएँ । त्यो दिनसम्म पार्टीमा अन्र्तघात हुन्छ भन्ने मलाई थाहा थिएन । साथिहरुले टिकट नपाउने वित्तिकै मलाई असहयोग गरे । ताप्लेजुङको जनताले त मलाई माया नै गर्नुभएको हो, अझैँ गरिरहनुभएको छ ।
अन्तरघात पुनः नदोहोरिएला भन्न सकिएला त ? माहौल कस्तो बनिरहेको छ ?
म विस्वस्त छु । १३औं महाधिवेशनमा ३ जना महिला निर्वाचित भएका थियौं । अहिले पनि पार्टीमा रेकर्ड होला ! तीन जना निर्वाचित हुँदै गर्दा यदि पार्टीले कामको आधारमा पुरस्कारको व्यवस्था गरेको भए म एक नम्बरमा पर्ने थिएँ । क्रियाशील सदस्यताको हकमा ताप्लेजुङ जिल्ला सबैभन्दा विवाद रहित जिल्ला हो जस्तो लाग्छ मलाई । पार्टीले दिएको जिम्मेवारी सबै पुरा गरेर अझैं संगठन बढाएर, कम्युनिष्टले कब्जा गरेको ठाउँलाई बँचाएर राखेका छौं । र, लगभग चुनाव जित्ने वातावरण बनाएर राखेका छौं । गएको स्थानीय तहको निर्वाचनमा मैले धेरै वडाध्यक्षहरुलाई जिताएको छु । त्यसैले पनि मेरो मूल्यांकन हुन्छ र मलाई अहिले हराउछन् जस्तो लाग्दैन ।
तपाईंका आलोचकहरूले “लिला जी राजनीति पृष्ठभूमिबाट आउनुभएको होइन, श्रीमानको इतिहासको ब्याज मात्रै खाइरहेकी हुन्” भन्ने गर्छन् नि के भन्नु हुन्छ ?
यो हदैसम्मको गलत कुरा हो । त्यो भन्ने मान्छेलाई लिला बोखिमको विषयमा राम्रोसँग पढाउनुपर्ने हुन्छ । मेरो राजनैतिक पृष्ठभूमि मेरो बुबाको पालादेखिको हो । पञ्चायतकालमा मेरो बुबा २२ वर्ष प्रधानपञ्च हुनुभएको होे । र, मेरा बुबा प्रधानपञ्च हुनुहुँदा पनि हामी घरभित्रैबाट बहुदलको पक्षमा संघर्ष गर्दै निस्किएका हौं । कुन सपनाको आधारमा श्रीमानको ब्याज खाएको कुरा गरेका हुन् ? वहाँसग विवाह नभइ म जिल्ला कार्यसमितिमा आइसकेको थिएँ । श्रीमान् पार्टी सभापति हुँदा वित्नुभएको हो । त्यो भन्दा अघि नै म महिला संघको जिल्ला सभापति थिएँ । म वहाँ सँगसँगै अगाडि बढिरहेको थिएँ । ताप्लेजुङवासी सबै काँग्रेसीहरुले देख्नुभएको छ कि मेरो विवाह अघि नै म वडास्तरबाट चुनाव लड्दै नगरउम्मुख फुङ्लीङमा पार्टी सभापति चलाइसकेको थिएँ ।
यति लामो समयको राजनैतिक यात्रामा तपाइँले महिला हुनुकै कारण राजनीतिमा भोग्नुभएका अफ्ठयाराहरू छन् ?
साह्रै राम्रो प्रश्न सोध्नुभएकोमा धन्यवाद । महिला भएर राजनीतिको यो स्थानसम्म पुग्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो कुरा हो । यो खेलाची हैन । राजनीति गर्न पुरुषलाई जति सजिलो छ, त्यति सजिलो महिलालाई कुनै पनि हालतमा हुँदैन । राजनीतिमा कति दुःख र अफ्ठ्याराहरू भोगेँ भन्ने कुरा बताउन यो अन्र्तवार्ता मात्रै पर्याप्त छैन । यदि म पुरुष भएको भए यति धेरै लड्नुपर्ने थिएन र पार्टीको यो भन्दा माथिल्लो तहसम्म पुगिसक्ने थिएँ । दोस्रो संविधानसभाको चुनावमा लड्दै गर्दा कति नेता पुरुष दाजुभाइहरू कसरी महिलाको पछि लागेर भोट माग्नु ? भन्दै अफ्ठ्यारो महसुस गरेर मसँग एकैदिन सबैजना निस्किन पनि चाहानुभएन । बाध्य भएर एकदुईजना दाजुभाइहरू हिँड्नुभयो । केहि बहिनीहरुलाई अगाडि लगाएपछि मात्रै वहाँहरू पछि लाग्नुभयो । यस्ता घटनाहरू धेरै छन् । त्यसकारण पनि मैले धेरै महिलाहरुलाई नेतृत्व पंक्तिमा ल्याएँ । अहिले चैं त्यति गाह्रो छैन । सहयोग पाएको छु ।
पुरुषहरुको नजरमा महिलाले नेतृत्व गरेमा उनिहरुको पछाडि लागेर कुद्न नहुने मुख्य कारण चाहिँ के रैछ त ?
मुख्य त पितृसत्ता नै हो । २ जना महिला १ जना पुरुष सँगै बसेर काम गरिरहेको खण्डमा पहिलो नम्बरमा पुरुषको नाम टाइप गरिन्छ । महिलाको नाम बिर्सिन्छन् । यो वहाँहरुको दोष पनि हैन, दोष पितृसत्ताको हो । पुरुषले मात्रै नेतृत्व गर्ने, हरेक काममा पुरुष निर्णायक हुने परम्परा नै बसेर आएको कारण वहाँहरुलाई त्यस्तो लागेको हो । कति त महिलाले छोएको नखाने पुरुष पनि भेटिनुहुन्थ्यो । महिलाले कुनै पनि निर्णय लिन सक्तैनन्, नेतृत्व गर्न सक्तैनन्, कुनै पनि सभामा आफ्नो विचार राख्न सक्तैनन् भन्ने भ्रम वहाँहरुमा थियो । तर दुर्गम जिल्ला भएतापनि ताप्लेजुङको हकमा मैले त्यस्ता सोचलाई गलत सावित गराएको छु । जसले गर्दा यहाँको महिलाहरुलाई सजिलो भएको छ ।
केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्छ, तपाइँका कार्ययोजनाहरू केके छन् ?
पार्टीले दिएको जुनसुकै विभागमा रहेर म काम गर्न तयार छु । संगठनमै गर्नुपर्ने कामहरू पनि धेरै छन् । अझ धेरै महिलाका मुद्धाका कामहरू छन् । मलाई दुःख पनि लागेको छ, १४औं महाधिवेशनमा त कम्तिमा पनि ५/६ जना महिला आइन्छ होला जस्तो लागेको थियो तर अहिलेसम्म एकजना महिलाको नाम सुनेको छुइन । त्यसो त मलाई जानकारी नभएको पनि हुन सक्छ । महिलाहरुको नेतृत्व भाषणमा मात्रै सीमित नभइ व्यावहारिक रुपमै महिलाहरुलाई नेतृत्व गर्ने ठाउँसम्म जबसम्म पु¥याइदैन तबसम्म सामाजिक, आर्थिक, राजनैतिक कुनैपनि क्षेत्रको विकास हुँदैन । त्यसबारे काम गर्नेछु । यदि केन्द्रीय सदस्य जितेको खण्डमा विना स्वार्थ म पार्टीको सिपाहीको रुपमा काम गर्नेछु । मलाई विश्वास छ वहाँहरुले मलाई जिताउनुहुन्छ ।
सबै नेताहरू आफूले तार्गेट गरेको पदमा पुगे यसो गर्छु, उसो गर्छु भन्छन्, नारा र योजना मात्रै सुनाइरहन्छन् तपाइँको हकमा के होला ?
म एकपटक फर्केर मेरो कामलाई हेरिदिनुहुन अनुरोध गर्छु । पार्टीको कुनै जिम्मेवारीमा नबसेको अवस्थामा पनि म संगठनलाई सहयोग पुग्ने काम गरिरहेको हुन्थेँ । पार्टी सभापति हुँदा पनि त्यसरी नै काम गरेँ । भोली जुनसुकै तहमा पुगेतापनि मैले काम गर्ने त्यसरी नै हो । पार्टी बाँचे हामी बाँच्छौं, संगठन बचाउनका लागि म जहिल्यै प्रतिवद्ध रहनेछु ।