June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

कांग्रेसका दुवै समूह छलफलमा, अझै टुंगो लागेनन् उम्मेदवार

2.1K

काठमाडौं : मनोनयन दर्ता गर्ने समय आइसक्दा पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवारको टुंगो लगाएका छैनन्। 

हिजो अबेरसम्म दुवै पक्षले छलफल गरेपनि सहमति जुट्न नसकेको हो। संस्थापन पक्षमा सभापतिमा विवाद नभएपनि महामन्त्री र सहमहामन्त्रीमा आकांक्षी धेरै भएकाले उनीहरुको व्यवस्थापन कठिन बनेको छ। 

दुईमध्ये एक महामन्त्री र एक सहमहामन्त्री कृष्ण सिटौला पक्षलाई दिने सहमति भएसँगै सभापति शेरबहादुर देउवालाई आफ्नो पक्षका नेता व्यवस्थापनमा थप सकस भएको छ। 

Advertisement

महामन्त्रीमा बालकृष्ण खाँड, डाक्टर प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखकलगायतका नेताहरुले दाबी गरेका छन्। उम्मेदवारको प्यानल निर्माणका लागि संस्थापन पक्ष अहिले सभापति देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुटिरहेको छ। 

संस्थापन इतर समूहको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसिरहेको छ। सिटौला समूहसँग देउवाले सहमति गरेपछि थप दबाबमा देखिएको इतर समूहले सभापतिको साझा उम्मेदवार अझै तय गर्न सकेको छैन्। 

बत्तीसपुतली स्थित एक पार्टी प्यालेसमा गएराति अबेरसम्म भएको छलफलमा शेखर कोइराला र प्रकाशमान सिंह दुवैले आफ्नो दाबी छाडेका छैनन्। 

कोइराला रामचन्द्र पौडेललाई भए छाड्न तयार भएपनि सिंह पछि नहटेपछि उनी पनि आफ्नो अडानमा यथावत रहेका हुन्।  पौडेल आफ्नो समूहमा सर्वसम्मत भए मात्रै उम्मेदवारी दिने तयारीमा छन्।

सकभर साझा नेतृत्व निर्माणमा प्रयास भइरहेको नेताहरुले बताएका छन्। तर सहमतिका लागि छलफल चलिरहँदा सिंहले आज विहान १० बजे आफ्नो उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने तयारी गरे। यसले गर्दा संस्थापन इतरपक्षबाटै दुई जना उम्मेदवार बन्ने सम्भावना बढाउँदै लगेको छ।