January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

एमसिसीबारे अझ बढी गम्भीर ढंगले छलफल चलेको प्रचण्डको भनाइ

465

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले एमसिसीबारे राष्ट्रिय सहमतिका लागि पहल गर्ने कुरा भएको बताएका छन् । बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो पटक अमेरिकी सहायक विदेश मन्त्रीको डेलिगेसनपछि एमसिसीबारे छलफल अझ बढी गम्भीर ढंगले चलेको बताएका हुन् ।

प्रचण्डले एमसिसी यति विवादमा नहुनुपर्ने बताए । ‘ओरिजिनल सम्झौता हुँदा देउवा प्रधानमन्त्री र माओवादी पनि सरकारमा थियो, पछिल्लो सरकारले पार्लियामेन्टबाट परित गर्नुपर्ने कुरा थपिदिएपछि विवाद र जनतामा चिन्ता बढेको हो,’ उनले भने ।

त्यसैगरी उनले अहिले पहिलो सम्झौता तिरै फर्कन सकिने विषयमा छलफल भइरहेको जानकारी दिए । अर्को जनताका मनमा उठेका कुराको सम्बोधन गर्ने तरिकाको खोजी गरिने पनि उनले बताए ।

Advertisement

नागरिक आन्दोलनमा लागेकाहरूको रायसल्लाह लिएर राष्ट्रिय सहमति बनाएर अगाडि जानेतिर प्रयास हुने प्रचण्डको भनाइ छ । महाधिवेशन र सम्मेलन सकिएपछि सर्वदलीय बैठकले ढिलो भए पनि छिट्टै यसबारे छलफल हुने उनले बताए ।

प्रचण्डले भने, ‘अमेरीकाले दिने ऋण सहयोग नलिने भन्ने त नेपालको नीति नै हैन, ७५ वर्षदेखि हाम्रो कूटनीतिक सम्बन्ध छ । विभिन्न सहयोग भएका छन्, हामीले स्वीकारेका छौं, नेपाली जननताले उपभोग गरेकै छन् ।’