April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

आँट नभएकाहरू एमालेको बन्द ढोकाबाहिर रोइरहेका छन् : माधव नेपाल

२०७८ कार्तिक २९

2.2K

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आँट नभएकाहरूले मात्रै आफूलाई साथ नदिएको टिप्पणी गरेका छन्। 

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेका हौँ। किन विद्रोह गरेको त्यहीँ संघर्ष गरेको भए हुन्थ्यो भन्ने कुरा आउँछ। तर, त्यहाँ हामी निस्सासिएर बस्‍नुपर्ने अवस्था बन्यो।’
 
पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेता आँट नभएकै कारणले बन्द ढोकाबाहिर रोइकराइ गरिरहेको भन्दै कटाक्ष गरे।  

अध्यक्ष नेपालले भने, ‘हामीलाई एमालेमा जहाँ ढोका बन्द गरियो। छिर्न दिइएन। छिर्न दिए पनि निकाल्‍ने अवस्था रह्यो। त्यस्तो अवस्थामा प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति बन्छ। कि त नयाँ संघर्ष गर्नुपर्छ। अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेका छन्।’ 

Advertisement

पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको उनको भनाइ छ। 

अब नेकपा एमालेको अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको उनले दाबी गरे। अध्यक्ष नेपालले पाँचदलीय मोर्चाले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे। जनताको चाहना र मागलाई माथि उठाउन सके मात्रै लोकप्रिय पार्टी बन्न सक्ने उनको भनाइ छ।