January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

प्रदेश १ मा राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै

२०७८ कार्तिक २८

355

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई खारेज गर्ने भएको छ ।

मुख्यमन्त्री राईको नेतृत्वको सरकारले भीम आचार्य नेतृत्वको सरकार ‘अवैधानिक’ भएको भन्दै राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पूर्ववर्ती सरकारले संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएको थियो । पूर्व मुख्यमन्त्री आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने बताइएको छ । पूर्वमुख्यमन्त्री आचार्यले ६८ दिनमा ७५ वटा राजनीतिक नियुक्ति गरेका थिए ।

Advertisement

राजेन्द्रकुमार राईको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नै पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेजी प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

कात्तिक ४ मा आचार्य नेतृत्वको सरकारले एकै दिन २२ जनालाई विभिन्न बोर्ड र समितिमा नियुक्त गरेको थियो । त्यसदिन सरकारले प्रदेश पर्यटन बोर्डमा ६ जना, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाहकार समितिमा ११ जनालाई नियुक्ति दिएको थियो । यसरी नियुक्ति पाउनेमा एकाधबाहेक सबै एमाले कार्यकर्ता हुन् ।