January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

दाहालका कारण बहुमतको सरकार जोगाउन सकेनौं : गोकर्ण विष्ट

२०७८ कार्तिक २४

410

काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् । एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए ।

उनले भने, ‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्‍यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।’

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतारचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने उनको भनाइ थियो ।

Advertisement

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने, ‘यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।’

नेकपा एमालेसँग करिब साढे दुई वर्ष दाहाल मिल्दा एमालेको बलियो संगठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उनले दाहालले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा दाहाल लागेको टिप्पणी गरे ।