लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमण गरेर नेपाल फर्किएका छन् । कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज उनी नेपाल फर्किएका हुन् ।
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते बेलायत आएका प्रधानमन्त्री देउवा एक सातापछि नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।