काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र र ‘कलम’ नामको बुलेटिन प्रकाशन गर्ने भएकोे छ ।
समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिक रुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी गराएका छन् ।
यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको र सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने भएको छ ।
छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार सङ्कलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव आएको थियो ।
यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस सङ्गठनको भेला गरी घोषणा सभा गरिने समाजवादी प्रेस सङ्गठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । सो सङ्गठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ ।