May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

सर्वदलीय बैठकमा संवाद र सहमतिअनुसार नै अघि बढ्नेबारे छलफल

730

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संवाद र सहमतिअनुसार नै अघि बढ्नेबारे छलफल भएको छ । आज बालुवाटारमा भएको बैठकमा संसदमा देखिएको गतिरोध अन्त्य गर्नेबारे कुराकानी भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थिती रहेको उक्त बैठकपछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताए । कार्कीका अनुसार संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नेबारे आज छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली बैठकमा नआए पनि फेरिफेरि आफूले बोलाउने र त्यसबेला बैठकमा आएर ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । कारबाही गरेका १४ सांसदको सूची टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेले सभामुखमाथि लगाउँदै आएको छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा, कानुन मन्त्री कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका थिए ।