January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

नेकपा एसले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने

2.4K

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । ३०१ भित्रै पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य हुने भएको छ ।

बिहीबार गरिएको कार्यविभाजनअनुसार पोलिटब्यूरो सदस्यमा ७१ जना र स्थायी कमिटीमा ३५ जना सदस्य रहने भएका छन् ।

माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने नेता र बेदुराम भूसाल महासचिव चयन भएका छन् । यस्तै उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह र जयन्ती राई चयन भएका छन् ।

Advertisement

उपमहासचिवमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधार र डा विजय पौडेल गरी तीनजना छन् । चार सचिवमा नागेन्द्र चौधरी, जग्गनाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री छन् ।

केन्द्रमा सात उपाध्यक्ष भएपनि अन्य सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको जनाइएको छ । समाजवादीले महिला तथा युवा सहभागिता सुनिश्चित गर्न भन्दै पार्टी कमिटीमा एक तिहाइ महिला, युवा ४० प्रतिशतका हाराहारीमा समेट्ने स्रोतले जनाएको छ ।

पार्टीले तीन महिनाको कार्ययोजना बनाएको छ । पार्टीको प्रचार गर्ने, दक्षिणपन्थी विचलनवादको भण्डाफोर गर्ने र वडातहसम्मका कमिटी तीन महिनाभित्र गठन गर्ने भनिएको छ । यसैगरी हरेक प्रदेश क्षेत्रको एकजना गरी केन्द्रीय परिषद् ७०१ सदस्यीय गठन गरिने सो पार्टीले जनाएको छ ।

केन्द्रमा अनुशासन, निर्वाचन र लेखा आयोग रहनेछन् । हरेक आयोगमा ३५ सदस्य रहनेछन् । विभाग २५ सदस्यीय गठन गरिने छ भने सल्लाहकार कमिटी १५१ सदस्यीय र ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गर्ने बताइएको छ ।