July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

विजय गच्छदारको स्पष्टोक्ति, ‘तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन मानेको हुँ’

1.7K

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।

Advertisement

“प्रधानमन्त्री निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन तहगत रुपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ । मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगाएर कसैकसैलाई चोख्याउने काम भएको छ,” गच्छदारले पत्रकार सम्मेलनमा भने ।

सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उनले बताए ।

अख्तियार दुरुपयो अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि राजनीतिक दबाबमा चल्दा आयोगले आफ्नो छबीसमेत धुमिल बनाएको उनको भनाइ छ । “सरकारको छायाँका रुपमा काम नगरेको अवस्थामा आयोगले निष्पक्ष अनुसन्धान गर्नेमा दुई मत छैन । तर, मविरुद्धको आरोपपत्रमा उल्लेख विषय अध्ययन गर्दा षड्यन्त्र मात्रै हो भन्ने पुष्टि हुने छ,” उनले भने ।

मुद्दा निष्पक्ष रुपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ ।

ललिता निवास जग्गा प्रकरणमा आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगरेको उनको दाबी छ ।