February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक, सकेसम्म आजै मन्त्री चयन गरी सपथ गराउने पक्षमा

2.8K

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे बोलाएका छन् ।

परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न आज पदाधिकारी बैठक बस्न लागेको छ ।

Advertisement

सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ ।

प्रधानमन्त्री देउवा परराष्ट्र मन्त्री चयन गरी सकेसम्म आजै सपथ गराउने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा गहन छलफल गरेपछि मात्रै निर्णय हुनुपर्ने बताइरहेका छन् ।

देउवाले आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइसकेका छन् । परराष्ट्र मन्त्री पनि देउवाले आफू निकटका नेतालाई बनाउने भएपछि पार्टीभित्रैबाट विरोध भइरहेको छ । कांग्रेसमा नारायण खड्काले परराष्ट्र विभाग हेर्छन् । खड्कालाई देउवाले परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

वरिष्ठ नेता पौडेलनिकट सुजाता कोइराला पनि परराष्ट्र मन्त्रीमा आकांक्षी छिन्। पौडेल पक्षले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन गर्न पनि महत्वपूर्ण मन्त्रालयमा मन्त्री चयन गर्दा व्यापक छलफल हुनुपर्ने बताइरहेको छ ।

त्यसैगरी केन्द्रीय सदस्य मिनेन्द्र रिजालको नाम पनि परराष्ट्र मन्त्रीमा चर्चामा छ भने कानुन मन्त्री रहेका कार्कीलाई देउवाले परराष्ट्र मन्त्रीमा पठाउन सक्ने पनि चर्चा कांग्रेसवृत्तमा छ।

यसैबीच पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन्।