December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

जनमुक्ति पार्टी नेपाली जनताको मौलिक दल हो – बलदीप प्रभाश्वर चाम्लिङ, उपाध्यक्ष राजमुपा

2.2K

बलदीप प्रभाश्वर चाम्लिङ राष्ट्रिय जनमुक्ति पार्टीको स्थापनाकालदेखि नै आवद्ध भई राजनीतिमा सक्रिय भएका हुन् । नेपाल स्वतन्त्र विद्यार्थी मोर्चा सुनसरी र काठमाडौंको नेतृत्व गर्दै केन्द्रीय समितिमा पनि काम गरेका थिए । त्यसपछि पार्टी राजनीतिमा छिरेका चाम्लिङले केन्द्रीय सदस्य, सचिवहुँदै हालै भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका छन् । लेखनक्षेत्रमा उत्तिकै सक्रिय रहेका उनको जातीयमुक्ति र लोकतन्त्र पुस्तक प्रकाशित छ ।

स्थापनाकालदेखि यतिका लामो समयसम्म जनमुक्ति जस्ताको तस्तै रहनुको कारण के होला ?
जनमुक्ति पार्टी हामी सबैको अन्तिम विकल्प हो । ढिलो चाडो हामी लाग्नुपर्ने दल भनेकै जनमुक्ति हो । “स्टेटस क्वो नेभर एग्जिस्ट” । कुनै कुरा सधै एकनासको अवस्थामा रहँदैन । जनमुक्तिको विकासमा हिजोभन्दा आज स्तरोन्नति भइरहेको अवस्था छ ।

कुनै पनि कुराको विकासक्रममा विज्ञान हुन्छ । सङ्ख्या र गुणको समष्टिले निर्धारण गर्ने चलायीमान अवस्था नै कुनै पनि पार्टीको विकास हो । यसमा सँख्या पहिले कि गुण पहिले भन्ने हुन्छ । हामी सङ्ख्यालाई मात्र विकास देख्छौ । यस बुझाइमा खोट छ । हामीले महत्वपूर्ण पाटो गुणलाई पहिलो प्राथमिकतामा नराखी हुँदैन । पहिले गुण स्थापित गरेपछि सङ्ख्या आफैँ निर्धारण हुन्छ । गुण स्थापित गर्न केही समय चाहिन्छ । यसमा पनि विज्ञान छ ।

Advertisement

जनमुक्ति पार्टी पहिले सङ्ख्यात्मक होइन, आन्तरिक गुणस्तर विकासमा लागेको छ । पार्टी हाँक्न चाहिने सम्पूर्ण गुणहरू निर्माणमा हामी जुटेका छौँ । सङ्ख्या तथा भिडलाई मात्र पार्टी विकास ठान्ने दलहरू अन्ततः विलयी भएको पाएका छौँ, जस्तो कि माओवादी पार्टी ।

तसर्थ पार्टी हाँक्न चाहिने मानवशक्ति तथा नेता कार्यकर्ताहरूको बहुआयामिक गुण निर्माणको पुर्वतयारी कालखण्ड हो यो । तसर्थ “पहिले देखि अहिलेसम्म उस्ताको उस्तै” भन्ने तपाईं प्रश्न सान्दर्भिक लागेन ।

जनमुक्तिले उठाएका सवालहरू त सबै पार्टीहरूले आत्मसात गरेर लगिसके, आंसिकरुपमै भए पनि मुलुक संघात्मक भएको छ, धर्मनिरपेक्षता भएको छ, जसले गर्दा जनमुक्तिको सबै माग पूरा भइसकेको जस्तो लाग्दैन ?
नेपाली जनताले चाहेको परिवर्तन भएकै छैन । हामीले उठाएका मुद्दाहरू कहिँकतै लागू भएकै छैन । पहिचानसहितको संघीयता, निःशर्त धर्मनिरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी, एकल हिन्दुजातीय प्रतिक (टोटम) रहितको राष्ट्रिय प्रतिक (नेशनल इम्ब्लेम)हरू हुनुपर्छ भन्ने हाम्रो लोकतान्त्रिक मुद्दाहरू छन् । तर, हाम्रा मुद्दाको सार कसैले अठ्याएका छैनन् ।

जनमुक्ति पार्टी नेपाली जनताको मौलिक दल हो । यस पार्टीले उठाएका मुद्दा यही पार्टीले मात्र लागू गर्न सक्छ ।

जनमुक्तिले उठाएका सवालहरू अरू पार्टीले नै सम्बोधन गरिसक्यो अब काग्रेस–कम्युनिष्टकै झण्डाडण्डा बोक्न जाऔँ भन्नू जतिको ठुलो भ्रम र कुकर्म अरू हुनै सक्दैन ।

जनमुक्तिको मौलिक विचार र मुद्दाहरूलाई हामी जतिको सचेत नागरिकले सही रूपमा बुझ्ने चेष्टा नराख्नु भनेको उही पुरातन यथास्थितिलाई निरन्तरता दिनखोज्नु हो ।

जुनबेला जनमुक्तिले सिद्धान्त भन्दै अगाडि ल्याएको कुराहरू अहिले आएर प्राविधिक जस्तो मात्रै देखिइँदा पार्टीको स्थिति सँधै उस्तै रहेको त होइन ?
जनमुक्ति पार्टीको विचारधारा वा आईडियोलोजी भनेकै बहुराष्ट्रिय लोकतान्त्रिक समाजवाद हो । हामीले ‘बहुराष्ट्रिय लोकतन्त्र’ र ‘समाजवाद’लाई केन्द्रमा राख्दछौँ र यसकै आलोक तथा मापदण्डमा विभिन्न बिचार तथा सिद्धान्तहरूलाई समयअनुकुल प्रतिपाद गर्दै, त्यसलाई व्याख्या गर्दै हामी अगाडि बढिरहेका छौँ ।

बहुराष्ट्रिय लोकतन्त्र मार्फत हामी अधीनस्त जनता (जनजाति÷ दलित) लाई राष्ट्र (सत्ता भएको समुदाय) बनाउन चाहन्छौं । शोषित उत्पिडित जनताको “कार्यकारिणी राजनीतिक भूमिका” लाई राज्यको निर्णय–निर्माणको तहमा स्थापित गराउनु हाम्रो राजनैतिक सिद्धान्तको सार हो ।

बहुराष्ट्रिय लोकतन्त्रमा कुनै पनि व्यक्ति तथा समुदाय विभेदमा रहदैन । बहुराष्ट्रिय लोकतन्त्रले सबैलाई समकक्षीय हैसियतमा राख्दछ । समकक्षीय शक्ति सन्तुलनमा सबै घटकहरू रहने हो भने एकले अर्काे माथि शोसन र दमन गर्ने आधार पाउन सक्दैन ।

जनमुक्तिको बहुराष्ट्रिय लोकतन्त्रले सबै जनतालाई सत्ताको मालिक बनाउँछ र जनमुक्तिको समाजवादले सम्पतिको मालिक बनाउँछ । अन्य पार्टीले रोटीको मात्र कुरा गर्छ तर हामी जनमुक्ति चाहिँ अधिकार तथा पहिचान सहितको रोटीको व्याख्या गर्छाै । हामी अधिकार र रोटी दुबै दिन्छौँ तर अरू रोटीमात्र दिन्छन् । हाम्रो यस्तो महान विचारलाई तपाईं प्राविधिक जस्तो देख्नुमा कतै खोट त छैन ?

जनमुक्ति पनि धेरै कार्यकर्ता उत्पादन गर्नेमा पर्दछ, तर वयस्क या म्याचोर्ड भएपछि किन पार्टीसँग रहेनन् ?
हो हामीसँंग हजारौँ कार्यकर्ता छन् । तर सबै कार्कर्ताहरू एक नासका हुन्नन् । उनीहरूसँग क्षणिक र दीर्घकालिन स्वार्थहरू हुन्छन् । धेरैजसो पार्टी कार्यकर्ताहरूमा राजनीतिक स्वार्थ भन्दा व्यक्तिगत स्वार्थहरू हुन्छन् । यस्तो अवस्था कति पार्टीसँग जोडिरहन्छन् त कति बाहिरिन्छन् । ठुलो सपना र भिजन नभएका नेता तथा कार्यकर्ताहरू कहिँ पनि टिक्दैनन् । यद्यपि, जनमुक्तिमा हामी जति कार्यकर्ता छौँ ती सबै खारिएका छौँ, अनुभवी छौँ, धैर्यवान छौँ, आशावादी छौँ, समर्पित छौँ, मुलुक परिवर्तनको जिम्मेवारी आफ्नै काँधमा रहेको वास्तविकतालाई आत्मसात गरेर संघर्षमा होमिएका छौँ ।

जो कार्यकर्ता जति उमेरले र विचारले खारिन्छन् उति नै उनीहरू जनमुक्ति पार्टीमा आवद्ध भइरहन्छन् । जो सुकै व्यक्ति हरकुरामा वयस्क र परिपक्व हुनु भनेको नै उसले जनमुक्ति पार्टीको अपरिहार्यतालाई महसुस गर्नु हो । वयस्कता तथा परिपक्वता पनि जनमुक्ति पार्टीको पुँजी हो । हामी सबै वयस्क या म्याचोर्डहरू जनमुक्ति मै छौँ, आलाकाँचाहरू रहेनन् होला, त्यो अर्कै कुरा हो ।

यसपल्टदेखि जनमुक्तिले पनि संघीय, राष्ट्रिय गरेर दुई अध्यक्ष साथै पदाधिकारीहरूमा पनि धेरै व्यक्ति समावेश गरेछ, अन्य पार्टीको सिको हो या आवश्यकता ?
बरू अरूले हाम्रो सिको गर्न खोज्छन्, तर हामीले अरूबाट सिको गर्नुपर्ने कुनै आवस्यकता नै छैन । हामी बहुपदीय प्रणालीमा गएका हौँ । यो “सामुहिक नेतृत्व”को सिद्धान्त हो । निर्णय गर्दा सबै बसेर गर्ने र त्यो निर्णयको जसअपजस पनि सबैले लिने हो । सिमित थोरै केन्द्रिय समिति संख्यामा पदाधिकारीहरूको पदमात्रै बहुल छ । हामीले जम्बो कमिटि बनाएका छैनौ । अरू दलले सयौँ/हजारौँको सङ्ख्यामा केन्द्रीय समिति बनाउने अनि निर्णय चै १ जनाले सुटुक्क गर्ने किसिमको प्रणाली हामीले बनाएका छैनौं । निर्णय र जिम्मेवारी सामुहिक होस भन्नाको खातिर हामीले नयाँ ढाँचामा गएका हौँ ।

महाधिवेशनपश्चात पार्टीमा कस्तो स्फुर्ति आएको छ ?
जनता र देशको लागि समर्पित भएर लाग्ने थप हौसला र प्रेरणा मिलेको छ

आगामी रणनीतिहरू केके छन् ?
प्रचारप्रसार, जनसम्पर्क, सङ्गठन विस्तार र आन्दोलन हाम्रो कार्यक्रम हुन् ।

तीनैतहको चुनाव नजिकिदै छ, कस्तो छ तयारी ?
चुनाव तीन कुराको लागि लडिन्छ । हार्नको लागि, हराउनको लागि र जित्नको लागि ।

हार्नको लागि लड्ने चुनावी चरण हामीले पार गरिसक्यौँ । अब हामी विरोधीलाई हराउने वा आफै जित्ने चुनावी चरणमा छौँ । हाम्रो उम्मेदवारीको कारण धेरै यथास्थितिवादीहरू हार्नेवाला छन् । यो पनि हाम्रो आन्दोलनको एक किसिमको जित नै हो । बाँकी आफै जित्ने चुनावहरूले हामीलाई प्रतीक्षा गरिरहेका छन् । हराउने र जित्ने चुनावी तयारी गरिरहेछौँ ।

नेपालमा बहुपार्टी प्रणाली भएपनि मुख्यतया दुई पार्टीमात्रै अग्रपंक्तिमा देखिन्छन्, स्वार्थले अलग्गिनु बेग्लै कुरा हो, त्यसमा पहिचान पक्षधरहरूको तेश्रो शक्ति बन्दै गरेको पनि देखिन्छ । त्यो शक्तिसँग मिलेर जाँदा राम्रो हुन्न र ?
अधिकारविहिन, पहिचानविहिन र गरिब श्रमजिवी नेपाली जनताहरूको मूल पार्टी बन्न चाहन्छौं । समानता, न्याय र समृद्धि ल्याउने राजनीतिक शक्तिको रूपमा जनमुक्ति पार्टीलाई स्थापित गराएरै छाड्ने छौँ । हाम्रो ध्रुव वरिपरि रहेका सहयोगी घटकहरूलाई मिलाएर तथा एक ठाम ल्याएर अगाडि बढ्ने छौँ ।

त्यसरी मिलेर जाँदा समस्या चाही कहाँनेर आउदो रहेछ ?
त्यसरी मिलेर जाँदा समस्या कहिँ हुन्न । बुझाइ र स्कुलिङ मात्र फरक हो । हाम्रो बुझाइ समग्रतामा हो, अंशमा होइन । हामी समग्र स्वार्थको पार्टी हौँ, आंशिक स्वार्थको पार्टी होइनौँ ।

चुनावमा कार्यगत एकता होला नि ?
गठबन्धन, कार्यगत एकता, समिकरण जस्ता कुराहरू राजनीतिक विषयसूची हुन् । यसबाट हामी अछुतो रहन्नौ ।

प्रस्तुति, सीता तुम्खेवा