काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । उनले संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरे पनि गलत नै भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन / हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।
सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/ हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नु पर्छ ।’