January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

रविन्द्र मिश्रको प्रस्तावमा विवेकशील साझाकै नेताहरुको आपत्ति

2.3K

काठमाडौं । रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा विवाद देखिएको छ । विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाउँदै असन्तुष्ट देखिएका हुन् ।

उनीहरुले मिश्रले पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको अरोप लगाएका छन् । पार्टीका संयोजक मिलन पाण्डेले पनि संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव मिश्रको व्यक्तिगत धारणा मात्र भएको बताएका छन् ।

मिश्रले राखेका धारणा पार्टीसँग कुनै पनि नाता नभएको प्रतिक्रिया दिएका छन् । ‘उहाँले राख्नु भएको धारणाको पार्टीसँग कुनै नाता छैन, यो पार्टीको लाइन पनि होइन’ उनले भने । विवकेशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदा जारी गरिएको घोषणापत्र स्मरण समेत उनले गर्न सुझाएका छन् ।

Advertisement

‘घोषणा पत्रमै विवकेशील साझा पार्टी संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी हो भनेका छौं, हिजो भएका आन्दोलनका उपलब्धीलाई रक्षा गर्छौं भनेका छौं’ उनले भने, ‘यो मिलन पाण्डेको होइन, पार्टीको लाइन हो ।’

अर्का एक नेताले पनि अध्यक्ष मिश्रको प्रस्ताव पार्टीको एजेण्डा नै नबन्ने बताएका छन् । दस्तावेजमा उल्लेख गरेको पूर्वराजासम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै उनले भने, ‘‘व्यक्तिले चाहँदैमा जे मन लाग्यो, त्यो एजेण्डा बन्दैन ।’