July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

निर्वाचन आयोग पुगेर यादवले गरे जसपाको आधिकारिकता माग

410

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग गरेका छन् । शुक्रबार पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित आयोग पुगेका यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी संगठन सञ्चालनमा बाधा पुगेको भन्दै आधिकारिकता आफूलाई दिन माग गरेका हुन् ।

यादव पक्षले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता दाबी गरेको भन्दै त्यसमा निर्णय गरिदिन माग गरेको हो ।

यसअघि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यस्तै, ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको निर्णयलाई पनि मान्यता दिएको थिएन । आयोगको उक्त निर्णयले पार्टीमा विवाद निरुपण नभएकाले कार्यकारिणीको बहुमतले आधिकारिकता दाबी गर्ने निर्णय भएको यादवले बुझाएको पत्रमा लेखिएको छ ।

‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४, दलको अन्तरिम विधान २०७७ (संशोधनसहित) समेतको अनुकूल संचालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को (ग) बमोजिम अधिकारिकताको लागि दफा ४४ (१) बमोजिमको अधिकारीक निर्णय आवश्यक भएकोले दफा ४४ उपदफा (२), (३), (५), ६) (७) दफा ४५, ४६ (१), (२) बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी अधिकारिकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारणी समितिको मिति २०७८/३/३ को निर्णयबमोजिम लिखित दाबी पेस गरेका छौं,’ यादव पक्षको आधिकारिकताको दाबी पत्रमा उल्लेख छ ।

यादव पक्षले पार्टी सञ्चालनमा ठाकुर पक्षले अवरोध गरेको आरोप लगाएको छ । बारम्बार बैठकमा अनुपस्थित हुने, फरक सूचना जारी गरेर बैठक स्थगित गरेको निर्णय लेख्ने लगायतका काम ठाकुर पक्षबाट भएको र त्यसले पार्टीको आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारेको यादव पक्षको भनाइ छ । पार्टीलाई दूरगामी प्रभाव र क्षति हुनेगरी ठाकुरले काम गरेको पनि यादवले आयोगलाई बुझाएको पत्रमा लेखेका छन् । ‘पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी दलको गतिविधिमा दुरगामी प्रभाव र क्षति हुने गरी पार्टीलाई विभाजनको तहसम्मको एकपक्षीय रुपमा गुट-उपगुट बनाई विधानविपरीत एकपछि अर्को कार्य गरी आएकोले यस्तो कार्यलाई तत्काल रोक्न र पार्टीलाई कानुनसम्मत, विधिसम्मत संचालन गरी पार्टीलाई जनमत र बहुमतको आधारमा संचालनको लागि, ‘आधिकारिकता दाबी गर्नुपरेको यादवको तर्क छ ।