July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

215

काठमाडौं– जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। महत्त्वपूर्ण निर्णय गर्नका लागि भनेर बोलाइएको बैठक जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान बिहान साढे ११ बजे बस्दै छ।

‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भई दिनुहुनको लागि अनुरोध गरिन्छ’, पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा कार्यकारिणी समिति सदस्यहरुलाई पठाइएको पत्रमा भनिएको छ।

जसपा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षमा विभाजित भइसकेको छ। यादव पक्षले ठाकुर पक्षका चार जनालाई पार्टीबाट निष्कासन गरेको छ। साथै, ९ जनालाई साते दिने स्पष्टीकरण सोधेको छ।

वर्तमान कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। तर, हालै ठाकुर पक्षले एकतर्फीरुपमा कार्यकारिणी समितिमा १७ जना थप गरेका छन्।

 त्यस्तै, ठाकुर पक्षले यादवलाई निष्कासित गरेको छ। दुवै पक्षले निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएका भए पनि उसले मान्यता दिएको छैन। आयोगको निर्णय विरुद्ध यादव पक्ष सर्वोच्च अदालत जाने तयारीमा छ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन थालेपछि पार्टीभित्र बिग्रिएको सम्बन्ध सो पक्ष सरकारमै सामेल भएपछि झनै तिक्त बनेको छ। ठाकुर पक्षले यसअघिका कार्यकारिणी समितिका बैठक पनि टार्दै आएको थियो।