June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

ओलीकाे प्रस्तावमा यस्ताे छ खनाल–नेपाल पक्षकाे जवाफ (विज्ञप्तिसहित)

230

काठमाडौं : पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावको खनाल–नेपाल पक्षले जवाफ फर्काएको छ।

एकताका लागि ओलीले राखेका ६ प्रस्तावको खनाल–नेपाल समूहले एक/एक गरेर जवाफ दिएको हो। सोमबार विज्ञप्ति जारी गरी सो समूहले ओलीले अगाडि सारेका कुराहरु पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको ठहर गरेको छ।

‘उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ’, विज्ञप्तिमा भनिएको छ,‘अतः पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान  गर्दछौं।’

ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्नेमा आफूहरु स्पष्ट रहेको समेत विज्ञप्तिमा उल्लेख छ। पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए।

ओलीले शर्त राखेको भोलिपल्ट बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएमा हस्ताक्षरको विषय आफैं समाधान हुने तर्क अघि सारेको छ।