June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

प्रधानमन्त्री ओली पुनः मन्त्रिपरिषद विस्तारको तयारीमा

315

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् । आफूसँग ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले)बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री एमाले नेताहरुले बताएका छन् । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोच ओलीको छ । तर, अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

“भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीले गृहकार्य त्यतै लक्षित देखिन्छ,” एमालेका एक नेताले भने । भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि रानाको नाम अग्रपंक्तिमा छ ।

सोहीअनुसार असअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ ।

त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थालेको बुझिएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजदा रहेको मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् ।