June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दैगर्दा देउवा–प्रचण्ड–माधवबीच गोप्य बैठक

145

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्दैगर्दा विपक्षी गठबन्धन भने गोप्य बैठकमा जुटेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार साँझ विपक्षी गठबन्धनका नेताहरु बैठक बसेका हुन् ।

बैठकमा सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेले निष्काशन गरेका नेता माधवकुमार नेपाल र भीम रावल सहभागी थिए । बैठकमा जसपाका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशाेक राई महेन्द्रराय यादव लगायतका नेताहरू सहभागी थिए । त्यसैगरी, राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेल पनि रहेकाे नेपाली काँग्रेस स्राेतले जनाएकाे छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न थालेपछि विपक्षी गठबन्धनको बैठक बसेको हो । आजको बैठक भने नेताहरुले गोप्य भनेका छन् । बैठकमा ओलीले कामचलाउ सरकार समेत पुनर्गठन गरेर अर्को असंवैधानिक कदम चालेको निष्कर्ष निकालेको एक नेताले बताए ।

प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक कदम चालेको ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु संवैधानिक कानुनविपरित भएको भन्दै विपक्षी गठबन्धनले शनिवार कानुनी परामर्श गर्ने भएका छन् । विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आफूहरुले प्रस्ताव गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।