June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

क्रियाशील सदस्यता छानविन समितिबाट राजीनामा दिने मनस्थितिमा प्रदीप पौडेल

125

काठमाडाैं– नेपाली कांग्रेसले गठन गरेको क्रियाशील सदस्यता छानविन समितिबाट प्रदीप पौडेलले राजीनामा दिने मनस्थिति बनाएका छन्।

निर्धारित समयमा महाधिवेशन गराउन पार्टी नेतृत्वको सक्रियता नदेखेपछि पौडेलले जिम्मेवारी छोड्ने सोच बनाएका हुन्। क्रियाशील सदस्यताको पूर्ण सूचि नआउँदा छानविन समितिले आफ्नो काम अघि बढाउन पाएको छैन। सूचीकृत भएका मध्ये कम विवाद ५ लाख सदस्यतमा छ। करिब २ लाख ५० हजार क्रियाशील सदस्यमा बढी विवाद रहेको बताइएको छ। 

पार्टी केन्द्रले विकास गरेको सफ्टवेयरमार्फत २०५ स्थानबाट क्रियाशील र नवीकरणको सूची इन्ट्री हुनुपर्छ। ६० जिल्लाबाट नामहरु आएको बताइएको छ। ती जिल्लामा पनि कतिपय क्षेत्रीय कार्यसमितिले नाम पठाएका छैनन्

‘तत्काल मापदण्ड बनाई महाधिवेशनको प्रक्रिया सुरु गर्नपर्छ। कामै गर्ने अवस्था भएन भने किन समितिमा बस्ने भन्ने हो,’ पौडेलले भने, ‘कार्यतालिका हेरफेर गरेर क्रियाशील सदस्यता छानविन प्रक्रिया छिटो हुनुपर्छ।’ नयाँ मापदण्ड बनाएर कार्यान्वयन गर्ने अवस्था रहे एक महिना भित्रमा छानविन समितिले काम सक्ने उनले बताए। 

पार्टी केन्द्रले शतप्रतिशतसम्म क्रियाशील सदस्यता वितरण गर्ने नीति लिएपनि केही स्थानबाट त्यो भन्दा बढी नामावली आएको बताइएको छ। शतप्रतिशत भन्दा बढी नामावली आएको अवस्थामा के गर्ने पार्टीले कुनै नीति तय गरेको छैन। कोरोनाका कारण केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन।

२०७७ को फागुनमा रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको थियो। समितिका सदस्यमा पौडेलसहित नेताहरु आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याण गुरुङ र यागेन्द्र चौधरी छन्। सभापति शेरबहादुर देउवा निकट संयोजक रहेका लेखक उक्त जिम्मेवारी भन्दा बढी पछिल्लो राजनीति घटनाक्रम तिर लागेका छन्। प्रतिनिधि सभा पुनः स्थापनाका सर्वोच्चमा लागि रिट तयार गर्ने,बहस गर्ने वकिलको तय टुंगो लगाउने तथा अन्य दलसँग छलफलमा उनी खटिएका छन्।

भदौ ७ देखि १० सम्म १४ औं महाधिवेशनको समय तोकिएको छ। महाधिवेशनको सबैभन्दा जटिल कार्य क्रियाशील सदस्यताको टुंगो र छानविन रहेको छ। १३ औं महाधिवेशनमा नरहरि आचार्य रहेको क्रियाशील सदस्यता छानविन समितिले कार्य सक्न छ महिना लगाएको थियो। अहिलेको छानविन समितिले कार्य प्रारम्भ नै गर्न सकेको छैन। 

पार्टी नेतृत्वले सहजीकरण नगरिँदा छानविनको कार्य अघि बढ्न नसकेको समिति सदस्य पौडेलको भनाइ छ।