June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी

375

काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोठा (किचन)मा बसेर निर्लज्ज र लज्जास्पद खेल खेलेको टिप्पणी गरेका छन्। 

बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान, न्याय तथा कानुनका विज्ञसँग गरेको परामर्शमा आफ्ना धारण राख्दै वरिष्ठ अधिवक्ता थापाले  राष्ट्रपति र प्रधानमन्त्रीबाट लजास्पद खेल ‘प्रदर्शन’ भएको टिप्पणी गरे।

‘एउटा किचेनमा प्रधानमन्त्री र राष्ट्रपतिज्यू राति बसेर हरहिसाब गर्ने र उहाँहरुको अंकगणितले यो धाराबाट यो धारा जान्छ, यो उपधाराबाट यो उपधारा जान्छ भनेर अंकगणित गरेर उहाँहरुले एउटा खेल खेल्नुभा’छ, यो अति निर्लज्ज छ, अति लज्जास्पद छ’, वरिष्ठ अधिवक्ता थापाले भने। 

वरिष्ठ अधिवक्ता थापाले संविधा सभाबाट जारी भएको अहिलेको संविधानको आधारभूत संरचना भनेकै संसद भएको बताए। ‘त्यो संसद प्रधानमन्त्रीले मार्ने व्यवस्था पनि छैन, राष्ट्रपतिले मार्ने व्यवस्था पनि छैन। त्यसकारण यसमा विवाद गर्नुको आवश्यकता छैन’, थापाले भने। 

वरिष्ठ अधिवक्ता थापाले कानुन मान्नजेति संयम नागरिक र सांसद एकातिर तथा कानुन नमान्नेजति सरकारमा भएको टिप्पणी गरे। 

‘हामी अहिले कानुन मान्नेजति संयम नागरिक छौं, सांसद छौं, कानुन नमान्ने जति सरकारमा हुनुहुन्छ, त्यसकारण कानुन नमान्नेसँग द्वन्द्व गरेका छैनौं, हामीहरुले अहिले टाउको दुखाइ, द्वन्द्वको अवस्था सिर्जना गरेका छैनौं’, थापाले भने, ‘तर जनमत आवश्यक पर्‍यो भने पनि जनमत पनि पुष्टि गर्नु पर्दछ। सारा नागरिक समाजहरु, बुद्धिजीवि संघ, संगठनहरु जानु पर्दछ।’ 

वरिष्ठ अधिवक्ता थापाले संसद विघटनको मुद्दामाथि अदालतमा धेरै लामो समयसम्म जोडघटाउ गरिरहनु आवश्यक नभएको पनि बताए। 

यसअघिको संसद विघटनको मुद्दामा सुनाएको फैसलाको पूर्णपाठ नै नआइ फेरि संसद विघटन गरिएको उल्लेख गर्दै थापाले भने, ‘अगाडि दिएको सर्वोच्च अदालतको फैसला बमोजिम पो प्रक्रिया शुरु हुनुपर्छ, अगाडि सर्वोच्च अदालतले भनिसक्या छ, त्यो प्रक्रिया शुरु नभइकनै फेरि संसद विघटन गरिएको छ, अब सर्वोच्च अदालतले पनि कस्तो प्रकारको प्रधानमन्त्री र कस्तो प्रकारको राष्ट्रपति हुनुहुन्छ भनेर परीक्षण गर्नुपर्ने हुन्छ।’

वरिष्ठ अधिवक्ता थापाले कुनै पनि गम्भीर प्रकारको कानुनी र संवैधानिक कदम चाल्न तयार छु भनेर तत्पर भएर बसेर सक्रि रहन पनि सभामुख सापकोटालाई सुझाव दिए।