June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

२१ जना सांसदसहित जसपाको ठाकुर पक्ष ओली सरकारमा जान सहमत

320

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएको छ ।

प्रधानमन्त्री ओलीले जसपाका माग पुरा गरेको र केही प्रकृयामा रहेकाले सत्ता सहकार्यका लागि तयार भएको जसपाका एक सांसदले जानकारी दिए । प्रधानमन्त्री ओलीसंग बिहीबार राती भएको भेटमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सहमति जनाएका हुन् ।

सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय मागेपनि ओलीले ८ वटा मन्त्रालय दिने बताएका छन् । यसमा जसपाले सहमति जनाइसकेको छ । जसपाको ठुकर पक्षले २१ जना सांसद आफुहरुसंग रहेको जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै ७६(५)को प्रधानमन्त्री बनाउनका लागि बहुमत जुटाउन एमालेका १ सय २१ र जसपाको २१ गरी १ सय ४२ जना सांसद रहेको भन्दै दाबी पेश गर्न लागिएको बताएका छन् ।

ठाकुर पक्षसंग २१ सांसद रहेपनि सांसद राजकिशोर यादव बुवाको किरियामा रहेका कारण उनको हस्ताक्षर हुन सकेको छैन । ठाकुर पक्षले सरकारमा जाने सहमति गरेपनि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने बेखबर छन् ।

प्रधानमन्त्री ओलीकै कारण जसपाभित्र विवाद उत्पन्न भएको छ । ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गरेपनि यादव पक्ष भने ओलीलाई सत्ताच्युत गर्न विपक्षीको गठबन्धनमा सामेल हुँदै आएको छ ।

हिजोको मन्त्रीपरिषद् बैठकले नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेकाले ओलीसंगै सहकार्यका लागि तयार भएको जसपा ठाकुर पक्षका सांसदहरुको भनाइ छ ।