काठमाडौँ – नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्ती बदर गर्ने निर्णय स्वीकार गर्ने बताएका छन् ।
मन्त्री ज्ञवालीले आफूले सर्वोच्चको पूर्णपाठ हेर्न नपाएको भन्दै निर्णय कार्यान्वयन गर्नु कर्तव्य भएको बताए ।
‘हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो,’ उनले भने ।
सर्वोच्चले सांसद नरहे पनि दोस्रोपटक मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङको नियुक्ती बदर गर्न आदेश दिएको थियो ।