September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

लोभिएनन् प्रधानमन्त्री बन्न देउवा

1.2K

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणका चतुर खेलाडीका रूपमा आफ्नो छवि बनाएका छन्। सत्ता र शक्तिमा पुग्नका लागि देउवा समीकरण मिलाउन ‘माहिर’ भएको विगतका अभ्यासले देखाएको छ। 

देउवाको भूमिकालाई लिएर अहिले धेरै हदसम्म सकारात्मक टिप्पणी भइरहेका छन्। अहिले देउवालाई उतिसारो सत्ताको भोक जागेको देखिँदैन। देउवाको विरोध गरेर नथाक्ने कांग्रेसको संस्थापन इतर समूहले केपी शर्मा ओली सरकारको विकल्प खोज्न दाबाब दिइरहँदा पनि देउवा आलटाल गर्ने मनस्थितिमा रहिरहे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि सरकारको विकल्पको खोजी सुरु भएको हो। धेरैले आंकलन गरेका थिए कि सत्ताका माहिर खेलाडी देउवाले फेरी पनि आफ्नो ५० को दशकको रुप देखाउने छन्। र, ज्योतिषीको भविष्यवाणीलाई सार्थक तुल्याउदै फेरी प्रधानमन्त्री बन्ने छन्।

केन्द्रीय समितिको निर्णयअनुसार चैत २७ गते देउवाले तीन दलको बैठक बोलाएका थिए। तीन दलको बैठकमा कांग्रेसकाे निर्णय सुनाउँदै उनले सहकार्य गर्न माओवादी र जसपासँग आग्रह गरेका थिए।

ओलीको विकल्प खोज्ने विषयमा देउवा निष्क्रिय हुनुमा तीन कारण रहेको उनी निकट नेताहरू बताउँछन्। कमजोर संसदीय अंकगणित, ओलीसँगको सम्बन्ध र निर्वाचनमा सिट बढ्ने लोभका कारण देउवा मुखैमा आएको प्रधानमन्त्री पदलाई पन्छाउन उद्यत रहेको देउवा निकट एक नेता बताउँछन् ।

जसपाका नेताहरुको विश्लेषणमा पनि देउवा प्रधानमन्त्री बन्न तयार छैनन्। तीन दलको बैठकपछि बसेको जसपाको पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुरले देउवा प्रधानमन्त्री बन्न तयार नभएको विश्लेषण गरेका थिए। 

‘देउवालाई प्रधानमन्त्री बन्न मन भए जस्तो देखिन्न। मन भए सहयोग गर्नुस् भन्नुहुन्थ्यो होला। तर मेरो पार्टीको निर्णय यस्तो छ। तपाईंहरु के गर्नुहुन्छ भन्नुभयो,’ ठाकुरले जसपा बैठकमा भनेका थिए, ‘सरकारमा आफ्नो नेतृत्व दाबी गरेर कांग्रेसले निर्णय गरेको छ। यो गठबन्धनको संस्कृति भित्र पर्दैन।’

देउवाले ५० को कालखण्डलाई दोहोरिन दिएनन्। प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फर्किन नदिएर देउवाले कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने किसिमको सन्देश दिए।

पार्टी कमजोर बनाएको आरोपबाट मुक्त हुँदै पहिलो पार्टी बनाएर अपजसको भारी बिसाउने योजना बनाएका देउवा फेरि प्रधानमन्त्री बनेर आफ्नो शाख थप धमिल्याउन चाहँदैनन्। यो विषय उनी निकट नेताहरुले सार्वजनिक रुपमै व्यक्त गरेकै पनि हो।

बहुदलपछिका ३० वर्षमा राम्रै राजनीतिक लाभ उठाउने व्यक्ति हुन्, देउवा। यो अवधिमा उनी एकपटक गृहमन्त्री र चार पटक प्रधानमन्त्री भइसकेका छन्।