May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

ओली एमाले फुटाउन लागेकाे भीम रावलकाे आराेप

320

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपीशर्मा ओली पार्टी फुटाएर जानलागेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै रावलले आफूहरु नभई ओली नै पार्टी फुटाएर जानलागेको बताएका हुन्।

‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे। कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए। नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए।

रावलले भने,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं।’ रावलले कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गरे। उनले सांसद पद जाने गरी विधिविधान विपरित कार्य नगरेकाले अध्यक्ष केपीशर्मा ओलीले पदमुक्तगर्न नसक्ने तर्क गरे। ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ ओलीलाई चुनौती दिँदै रावलले भने,‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस्।’

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ अघि बढिरहेको आरोप लगाए। उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे। उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं।’

आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको रावको भनाई थियो। उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं।’ ओलीले सहमतिकालागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा उनले दिए। कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनि भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको रावललको टिप्पणी थियो।

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिँदै उनले अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गरे। ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं।’ सहमतिकालागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको उनले बताए।

ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिने रावलको भनाई थियो। ओलीले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप उनले लगाए। एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको भन्दै उनले बताए।