May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

अनुशासनहीन र अराजक गुटसँग सम्झौता गर्दिन: प्रधानमन्त्री ओली

430

काठमाडौं – बुधबार साँझ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्तालाई निकै सकारात्मक भनि चर्चा गरिएको थियो । भेटवार्तालाई एमाले नेताहरुले विवाद समाधानको सुरुवाती भनि टिप्पणी गरेका थिए ।

तर, भेटवार्ताका विषय सार्वजनिक नगरिएको भए पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिले दुवै पक्ष आ–आफ्नै अडानमा टसमस नभएको देखिएको छ । बिहिबार बल्खुमा पार्टी कार्यालय भवनको शिल्यान्यास गर्दै अध्यक्ष ओलीले माधव नेपाल समूहलाई अनुशासनहीन र अराजक भएको टिप्पणी गरेका छन् । उनले अनुशासनहीन र अराजक समूहसँग कुनै सम्झौता नगर्ने पनि बताए ।

उनले माधव समूहलाई कुनै कारबाही नगरेको भन्दै आफुँ सच्याउने प्रयासमा मात्रै लागेको पनि बताए । ‘अहिलेसम्म सम्झाइबुझाइ गरिरहेका छौं, सम्झाउने र सच्याउने प्रयास छ, हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भनेका छन् ‘तर यसैलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन ।’

उनले पार्टीभित्र गुटगत गतिविधिलाई पनि मान्यता नदिने चेतावनी दिएका छन् । ओलीले गल्ती महसुस गरेर अनुशासित भएर आए पार्टीभित्र अवसर दिने पनि बताए ।