April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो: कांग्रेस प्रवक्ता शर्मा

130

काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन्।

पानी काठमाडौं ल्याइपुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भए पनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने उनको भनाइ छ। उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे।

‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्‍न हुँदै गर्दा, यसलाई गौरवका साथ लिँदै गर्दा कसैको आलोचना गरिरहनेभन्दा पनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ। कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो। कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न सुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो। न मेलम्ची यहाँ आइपुग्‍ने हुन्थ्यो होला,’ प्रवक्ता शर्माले भने, ‘सरकारले बिर्स्योहोला, मन्त्रीजीले बिर्सिनुभयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकावासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौं आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको पनि बताए।