April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

रेशम चौधरीबारे सरकारको धारणा स्पष्ट होस्: सांसद दुर्गा पौडेल

170

काठमाडाैं- सांसद दुर्गा पौडेलले दुई तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई माफी दिने कुरा आएको भन्दै यसमा सरकारको स्थिति स्पष्ट पार्न आग्रह गरेकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यो घटनामा दुई वर्षीय बालकको पनि बर्बरतापूर्वक हत्या गरिएकोले राजनीतिक घटना भनेर माफी दिन नसकिने दाबी गरिन्।

२०७२ भदाैमा टिकापुरमा भएको घटनामा ८ जनाको हत्या भएको थियो। सुरक्षाकर्मीर एक बालकको हत्या भएपछि रमेश चाैधरीलगायत विरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

हत्याको अभियोगमा चौधरीसहित केहीलाई जन्मकैदको सजाय भएको छ। उनीहरूलाई कैलाली जिल्ला अदालतले दोषी ठहर गरेको थियो भने उच्च अदालत दिपायलले जिल्लाकै फैसला सदर गरेको थियो।

‘यसलाई राजनीतिक मुद्दाको रुपमा अघि बढाउन पर्छ भनेर आएको विचारलाई सही भन्न सकिदैन’ सांसद पौडेलले भनिन् ‘सरकार बनाउन कुनै पनि दलको बहुमत छैन। यो सत्ताका लागि चौधरीको रिहा गर्ने कुरा आएको छ। यसो भएमा कानुन र न्यायको अवहेलना हुनेछ। देशमा नराम्रो नजीर स्थापना गर्नेछ।’ उनले भनिन्।