April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

‘अध्यक्ष पदबाट ओलीलाई हटाएको थियौँ, अदालतले फेरि अध्यक्ष बनाएर पठाइदियो।’: प्रचण्ड

165

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइसकेको अवस्थामा अदालतले निर्णय उल्टाइदिएको बताए। 

जेल ब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले बहुमतको केन्द्रीय सदस्यबाट अध्यक्ष पदबाट ओलीलाई हटाएको थियौँ। निर्वाचन आयोगमा समेत पठाइसकेका थियौँ। अदालतले बेलैमा निर्णय गरिदिएन। यता अदालतको अर्काे निर्णयले फेरि ओलीलाई अध्यक्ष बनाएर पठाइदियो।’ 

लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीताको विरोधीको रुपमा बाह्य शक्तिले ओलीलाई रोजेको आरोप लगाए। 

‘संसदीय दलको नेतामा समेत बहुमतको साथ हटाइरहेर बाहिर निस्कँदा अदालतको निर्णयले दुईवटा पार्टी बनाइदिएछ,’ उनले भने, ‘अदालतको निर्णय जन्मिसकेको बच्चा तीन वर्षपछि फेरि पेटमा हालि दिएजस्तो छ।’

‘हामीले प्रतिक्रियावादी हरुलाई खबरदारी गरिरहेका छौँ। यो सानो दुःखले ल्याएको उपलब्धि होइन। हामी त्यस्तो अवस्था चुप बस्न सक्दैनौँ। हामीले देशव्यापी रुपमा जनतालाई समेत अपिल गरेका छौँ’ उनले भने। 

संसद पुनःस्थापना भएर संविधान जोगियो भनेर बस्ने अवस्था नभएको बताए।